डचहरुले कसरी साइकल मार्ग प्राप्त गरे?
यो लेख Mark Wagenbuur द्वारा तयार पारिएको प्रसिद्ध भिडियो "How the Dutch got their cycle paths" को नेपाली अनुवाद हो | भिडियोको लिंक यस अनुवादको अन्त्यमा राखिएको छ |
विश्वको सबै भन्दा बढी साइकलमा यात्रा गर्ने जनसंख्या भएको देश हो नेदरल्याण्ड जसको साइकल यात्रा विश्वमै सबैभन्दा सुरक्षित पनि रहेको छ | देश भरी नै उत्कृष्टतम साइकलका पूर्वाधारहरु रहेकाले यो सम्भव भएको हो | त्यसो भए डचहरुले यस्तो सर्वोत्कृष्ट गुणस्तरीय साइकल मार्ग कसरी प्राप्त गरे त? कोही सोच्छन, धेरै डचहरु समेत कि ती साइकल मार्गहरु पहिले देखिनै त्यहिँ थिए | तर यस कुरामा आंशिक मात्र सत्यता रहेको छ | हो, त्यहाँ केही साइकल मार्गहरु थिए तर ती अहिले रहेका साइकल मार्ग भन्दा पूर्ण रुपमा भिन्न थिए | साँघुरो, उवडा खावड सतह सहितको डरलाग्दो अनि चोकहरुसम्म र एक अर्कामा नजोडिएका | साइकल मार्गहरुको आवश्यकता सो समयमा त्यति सारो थिएन पनि किनभने सडकमा साइकलको संख्या मोटरकारहरुको भन्दा अत्याधिक धेरै थियो | तर दोश्रो विश्व युद्ध पछि ती सबै कुरा बदलिए | डचहरुले आफ्नो देश पुनर्निर्माण गर्नु पर्ने भयो र उनीहरु असाध्यै धनी हुन थाले | सन १९४८ देखि १९६० को बीचमा उनीहरुको औसत आम्दानी ४४ प्रतिशतले र १९७० सम्ममा आश्चर्य लाग्दो गरी २२२ प्रतिशतले वृद्धि भयो | डचहरु अब महँगो सामान किन्न सक्ने भए | यही कारणले गर्दा सन १९५७ देखि सडकहरुमा कारको संख्या बढ्न पुग्यो | सडक, विशेषगरी पुराना सहरहरुको कारहरुको लागि बनाइएको थिएन त्यसैले सहरका भवनहरु भत्काएर सडक फराकिलो बनाइयो | साथै केहि पुराना साइकलका पूर्वाधारहरु पनि भत्काइयो |
डच सहर आम्सट्रड्राम Photo: Luca Lago |
मोटरकारहरुको लागि चौडा सडक सबैतिर विकास गर्ने काम भयो | मानिसहरुको यात्रा गर्ने बानीमा वृद्धि भयो | सन १९५७ देखि औसत दैनिक यात्रा गर्ने दुरी ३.९ किमी बाट वृद्धि भएर सन १९७५ मा आइपुग्दा २३.२ किमी हुन पुग्यो | तर यस उन्नतिको मूल्य डरलाग्दो थियो | साइकल यात्रीहरु सिमान्तिकृत भए र उनीहरुको संख्यामा वर्सेनी ६ प्रतिशतको दरले ह्रास आउन थाल्यो | सन १९७१ मा मात्र सडक दुर्घटनाबाट ३,३०० मानिसले ज्यान गुमाए | जस मध्य ४०० भन्दा बढी १४ बर्ष मुनिका बाल बच्चाहरु थिए | साना नानीहरुको मृत्युको खबरले दर डचहरुलाई विरोधको लागि सडकमा आउन बाध्य बनायो | नानीहरुको हत्या बन्द गर लगायत पैदल र साइकल यात्री नानीहरुको लागि सुरक्षित सडकको माग गर्दै विरोध प्रदर्शन भए | साथै उनीहरुका आवाज सुनियो पनि, विशेषगरी सन १९७३ मा, जुन बेला पहिलो पटक इन्धन संकटले पुरै देश ठप्प भयो | यस संकटबाट पार गर्न अब हामीले हाम्रो दैनिकीमा परिवर्तन ल्याउनुपर्ने बेला भयो त्यसैले अब हामी खनिज तेलमा कम निर्भर भई नयाँ जीवनशैली जिउनुको विकल्प भएन भनेर सो समयका नेदरल्याण्डका प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नु भयो | दैनिक आवतजावतका लागि यातायातका रुपमा साइकल प्रवर्द्धन गर्ने नीति उक्त समयमा सान्धर्भिक देखियो | सरकारले हरेक आइतबार सडकमा मोटर कार बन्द गर्ने निर्णय गर्यो जसले मानिसहरुलाई कार विनाको सडकहरु कस्तो देखिँदो रहेछ भनेर महसुस गरायो | यही समयमा पहिलो पटक एउटा भित्रि सहरी क्षेत्रलाई स्थायी रुपमा कारमुक्त क्षेत्र घोषणा गरियो | मोटर कारहरुको वृद्धिले मानिसका साथै सहर र वातावरण पनि मार्न थाल्यो भनेर विरोधहरु भइनै राखे | नेदरल्याण्ड भरी नै शहरहरु भित्र समुहमा गरिने साइकल यात्रा र साइकल मैत्री पूर्वाधारहरुको माग गरी भैरहेका साना विरोधहरुले सबैमा चेतना सिर्जना गर्यो जसले अन्त्यमा देशको यातायात नीति नै परिवर्तन गर्न सघायो |
सन १९६० को दशकमा कारको संख्या बढे संगै सडक विस्तार र चौडा गरिंदै | Photograph: Fotocollectie Anefo/Society for the Nationaal Archief |
सन १९७० को दसकको मध्यतिर स्थानीय नगरपालिकाहरुले परिक्षणको रुपमा सडक भन्दा पर सुरक्षित र पूर्ण साइकल मार्गहरुको निर्माण सुरु गरे | केन्द्र सरकारको लगानी मार्फत पहिलो साइकल मार्गहरु दुई सहरहरु ट्रीलवर्ग र हेगमा निर्माण गरियो | यही दुई सहर मार्फत नेदरल्याण्डको आधुनिक साइकल नीतिहरुको निर्माणको सुरुवात भयो | त्यस संगै उक्त दुई सहरहरुमा उल्लेख्य रुपमा साइकल यात्रीहरुको संख्यामा वृद्धि हुन थाल्यो, हेगमा ३० देखि ६० प्रतिशत र ट्रीलवर्गमा ७५ प्रतिशतले | साइकल मार्ग बनाइदेउ साइकल यात्रीहरु बढ्नेछन् भन्ने कुरा नेदरल्याण्डमा प्रमाणित भयो |
अन्त्यमा, नेदरल्याण्डमा कसरी यो परिवर्तन सम्भव भयो त ? डच सहरहरुमा पनि बढ्दो कारहरुले समस्या उत्पन्न गर्दा सहर भित्र भवनहरु भत्काई सडक चौडा पारियो तर कारहरुको लागि त्यसरी जग्गा छुट्याउंदा मानिसहरुबाट विरोधका आवाजहरु उठ्न थाले | साथै सवारी दुर्घटनाहरुबाट भईरहेको मानिसहरुको बढ्दो मृत्युबाट जनस्तरमा ठुला विरोधका कार्यक्रमहरु हुन थाल्यो | तेल संकटले निम्त्याएको आर्थिक संकटले गर्दा ग्यासको आपुर्ति कम हुन थाल्यो र इन्धनको मुल्यमा भारी वृद्धि भयो | यही समयमा एउटा समाधान निकालियो जुन राजनीतिक इच्छा शक्ति केन्द्रिय र स्थानीय नगरपालिकाहरुमा देखिएकाले सम्भव भयो जहाँ राजनीतिज्ञहरु र योजनाविद्हरू दुवैले उक्त समस्याको सामना गर्नु पर्यो जसले गर्दा कर केन्द्रित नीतिहरु वैकल्पिक यातायातका साधन जस्तै साइक्लिङ्ग सहज बनाउनेमा मोडियो | नेदरल्याण्डमा साइक्लिङ्ग अहिले यातायात नीतिको अभिन्न अङ्गको रुपमा रहेको छ |
आम्सट्रड्रामको भित्रि सहरी इलाकाको साइकल पार्किङ | Photo: Juliane Lutz |
अनि कारको विरोध गर्नेहरुले के हाँसिल गरे त ? जुन सडकमा सन १९७१ ताका वर्षेनी ४०० भन्दा बढी पैदल र साइकल यात्री बालबच्चाहरुले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए अहिले (सन २०१०) सो संख्या गत वर्ष १४ मा झरेको छ | अहिले उक्त सडक खण्डमा साइकल मार्ग बनाईएको छ | सहर भरी साइकल मार्ग बनाइएको छ | साइकल मार्ग माग्दै पहिले विरोध गरिएको सहरको भित्रि क्षेत्रमा कार मुक्त क्षेत्र घोषणा गरिएको छ |
नेदरल्याण्डको समस्या विशेष थिएन र होइन पनि; समाधानहरु पनि विशेष थिएन र होइन पनि !
भिडियोको लिंक:
Comments
Post a Comment